अन्नपूर्ण हिमालको आधारशिविरमा पञ्चकुण्ड तालको सुन्दरता
चारकोशे जङ्गलको सफारी होस् या हिमाली क्षेत्रको पदयात्रा । यस्तै तालमा डुङ्गा सयर होस् या पर्वत आरोहण । तराईंदेखि हिमालसम्म फैलिएको छ नेपालको पर्यटनको क्षेत्र । यहाँ धार्मिक, ऐतिहासिक साथै पर्यावरणीय पर्यटकीय क्षेत्रहरु अथाह छन् । तर यसरी पर्यटकीय आकर्षणको प्रचुर सम्भावना बोकेका क्षेत्रहरु प्रचारप्रसार तथा पूर्वाधारको अभावले ओझेलमा परेका छन् ।
तीनैमध्ये एक हो अन्नपूर्ण हिमालको आधार शिविर र त्यहाँ रहेको पञ्चकुण्ड । नेपालकै पहिले आरोहण अनुमति पाएको हिमाल भनेर अन्नपूर्ण हिमालको जुन ख्याति छ, त्यो ख्यातिको मुनि ओझेलमा परेको छ, त्यहाँको बेस क्याम्प र पञ्चकुण्ड । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्छ अन्नपूर्ण हिमाल । अन्नपूर्ण हिमालय क्षेत्र आफैमा निकै सुन्दर, मनमोहक र आकर्षक त छदैछ साथै अन्नपूर्ण आधारशिविरमा पुग्दा स्वर्गको अनुभूति गर्न पाइन्छ । वरिपरीबाट सुन्दर हिमालय पर्वतले घेरिएको अन्नपूर्णको आधारशिविरमा नीलो रङको ताल छ । चार हजार ५० मिटरको उचाइमा रहेको यो ताललाई स्थानीयले पञ्चकुण्ड नाम राखिदिएका छन् ।
धार्मिक तथा पर्यटकीय महत्व रहेको पञ्चकुण्ड तालको लम्बाई झण्डै एक किलोमिटर र चौडाइ दुईसय मिटर रहेको अनुमान गरिएको छ । तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब देखिन्छ । तालदेखि एक सय ४० मिटरको उचाइमा अन्नपूर्ण आधारशिविर पर्दछ । तालबाट नीलगिरि र अन्नपूर्ण हिमालको रेन्जलाई अवलोकन गर्न सकिन्छ । नारच्याङ गाउँदेखि दुई घण्टा गाडीको यात्रा गरेर मौरिस हर्जोग पदमार्गको करिब ७ घण्टाको पैदलयात्रापछि तालमा पुग्न सकिन्छ । अन्नपूर्ण आधारशिविर पुग्ने यो सबैभन्दा छोटो दुरीको पदमार्गको रुपमा मानिन्छ ।
सन् १९५० जुन ३ तारिखको दिन पहिलोपटक आठ हजार मिटर अग्लो अन्नपूर्ण हिमालमा मानव पाइला परेको थियो । सगरमाथा हिमालको आरोहणभन्दा ३ वर्ष पहिले सन् १९५० मा फ्रान्सेली नागरिक मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्ला हिमालमा पहिलोपटक आरोहणको आरम्भ भएको थियो ।
गण्डकी प्रदेशभित्र आठहजार मिटरभन्दा अग्ला तीनवटा हिमालहरु छन् । अन्नपूर्ण हिमालय क्षेत्र नेपालको उत्तर–मध्य भागमा पर्दछ । यसमा रहेको एक हिमालयको उचाई ८ हजार मिटर छ । अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौँ अग्लो र नेपालको नवौँ अग्लो हो । यसको उचाई ८ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाललाई आरोहण गर्न विश्वमा सबैभन्दा खतरनाक हिमालको रुपमा मानिन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको आधारशिविरसम्म पुग्ने पदमार्ग निर्माण तथा आवास व्यवस्थापन, आधारशिविरमा आवश्यक संरचना निर्माण तथा अन्नपूर्ण हिमालको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिएको जनाएको छ । छोटो दुरीमा रहेको अन्नपूर्ण हिमालको आधारशिविर पुग्ने विभिन्न छ ठाउँमा आश्रयस्थलहरु निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतप्रसाद सुवेदीले बताउनुभयो ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस