पहिरोले सिलिचोङमा सात परिवार विस्थापित, विद्यालय बन्द
संखुवासभा -अविरल वर्षापछि आएको बाढीपहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा सात परिवार विस्थापित भएका छन्। शनिबार रातिदेखिको निरन्तर वर्षासँगै आएको पहिरोले बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार कुन्ती राई, धनपूर्ण राई, मङ्गलबहादुर राई, सुकप्रसाद राई, मिरा राई, धनमान राई र अरुणसङ्गम राईका परिवार गरी सात परिवार विस्थापित भएका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० सदस्यीय टोली घटनास्थलमा खटिएको छ भने थप क्षतिको विवरण सङ्कलन र अनुगमन जारी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, सिलिचोङ गाउँपालिकाले विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
बाढीपहिरोका कारण गाउँपालिकामा विद्युत्, सञ्चार र यातायात सेवा व्यापक रूपमा प्रभावित भएका छन्। गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार सिसुवाखोलामा आएको बाढीले दुई विद्यालयमा क्षति पुर्याएपछि पठनपाठन पूर्ण रूपमा रोकिएको छ।
पहिरोबाट क्षतिग्रस्त कालिका माध्यामिक विद्यालयको भवनबाट सेनाले महत्त्वपूर्ण कागजपत्र, कम्प्युटर पुस्तकालयका सामग्रीहरू, विद्युतीय उपकरणहरू तथा फर्निचरका सामानहरु सुरक्षित स्थानमा सारेको सदरमुकाममा रहेको सेनाको इन्द्रदल गुल्मका सेनानी नवराज बस्नेतले बताए ।
गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुनुका साथै केन्द्रीय विद्युत्, माइक्रोहाइड्रो, इन्टरनेट र सञ्चार सेवा प्रभावित हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित बनेको छ।
पहिरोले सिलिचोङ–१ स्थित नेवाटारको कालिका माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको छ। विद्यालयका १५ वटा कक्षाकोठामा चिरा परेको छ भने शैक्षिक सामग्रीसमेत नष्ट भएका छन्। त्यस्तै, सिलिचोङ–४ को बागेश्वरी आधारभूत विद्यालयमा पनि भवन र शैक्षिक सामग्रीमा क्षति पुगेपछि दुवै विद्यालयको पठनपाठन अनिश्चितकालका लागि रोकिएको छ। अध्यक्ष मेवाहाङका अनुसार यी विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
गाउँपालिकाभित्रका सबै सडक र गोरेटो बाटो अवरुद्ध भएका छन्। दुई वटा स्थानीय माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप कष्टकर बनेको छ।
गाउँपालिकाले बाढी–पहिरो प्रभावित क्षेत्रको अनुगमन, विस्थापितको सुरक्षित व्यवस्थापन, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग तत्काल सहयोगको माग गरेको छ। अध्यक्ष मेवाहाङका अनुसार तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायत दर्जनौँ बस्ती अझै पहिरोको उच्च जोखिममा छन्।
निरन्तर वर्षा भइरहेका कारण धेरै स्थानीयवासी घर छाडेर सामूहिक रूपमा सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन्। स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोली प्रभावित क्षेत्रमा खटिए पनि सडक अवरुद्ध हुँदा राहत तथा उद्धार कार्यमा चुनौती थपिएको गाउँपालिकाले जनाएको छ।
सम्बन्धित समाचार



प्रतिकृया दिनुहोस