गुड ब्वाईज व्याडमिन्टन हुने
खाँदबारी, संखुवासभा ।
गुड ब्वाइजको आयोजनामा “प्रथम गुड ब्वाइज ब्याडमिन्टन प्रतियोगिता–२०८३” आगामी जेठ ३० र ३१ गते खाँदबारी–१ स्थित सोमनाथ मेमोरियल कभर्ड हलमा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा खुला पुरुष ‘सी’ डिभिजन तथा १२ वर्ष उमेर समूह मुनिका छात्र–छात्रा गरी दुई विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
गुड ब्वाईजका अध्यक्ष पालु लामाका अनुसार खुला पुरुष ‘सी’ डिभिजनतर्फ प्रथम पुरस्कार १० हजार रुपैयाँ, द्वितीय पुरस्कार ५ हजार रुपैयाँ तथा सेमिफाइनलिस्ट दुई टोलीलाई जनही २ हजार ५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस विधाको दर्ता शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, १२ वर्षमुनि उमेर समूह तर्फ प्रथम पुरस्कार ३ हजार रुपैयाँ, द्वितीय पुरस्कार १ हजार ५ सय रुपैयाँ तथा सेमिफाइनलिस्ट दुई टोलीलाई जनही ५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस समूहका सम्पूर्ण सहभागीलाई मेडल र प्रमाणपत्र समेत उपलब्ध गराइने आयोजकले जनाएको छ । यस विधाको दर्ता शुल्क १०० रुपैयाँ रहेको छ ।
खेल संयोजक मनिष श्रेष्ठका अनुसार प्रतियोगिताले खाँदबारी क्षेत्रमा ब्याडमिन्टन खेलको विकाससँगै बालबालिका र युवामा खेल संस्कृतिको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस