ब्याडमिन्टनको निर्णायक विकास कोर्स तथा पुनर्ताजगी तालिम
खाँदबारीमा ब्याडमिन्टनको कोशी प्रदेशस्तरीय निर्णायक विकास कोर्स तथा पुनर्ताजगी तालिम सुरु भएको छ । कोशी प्रदेश ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ संखुवासभाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालन सुरु तालिम १९ जेठसम्म चल्नेछ ।
तालिमको उद्घाटन खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सचिव एवं अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले संयुक्त गरेका थिए ।
तालिममा अन्तर्राष्ट्रिय अम्पायर दीपक थापा र राष्ट्रिय अम्पायर केदार धिमालले प्रशिक्षण दिनेछन् । कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष यज्ञश्वर श्रेष्ठ र जिल्ला ब्याडमिन्टन संघ संखुवासभाका अध्यक्ष सन्जिव श्रेष्ठले तालिमको महत्वबारे प्रकाश पारेका थिए । जिल्ला ब्याडमिन्टन संखुवासभाका सचिव रुक्मणी श्रेष्ठका अनुसार कोशी प्रदेशका १४ जिल्लाबाट ४७ भन्दा बढी प्रशिक्षक तथा प्रशिक्षार्थीको सहभागिता छ ।
पछिल्लो समय संखुवासभामा ब्याडमिन्टन खेलप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको अवस्थामा यस्ता तालिमले खेलको प्राविधिक तथा व्यवस्थापकीय पक्षलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । आयोजकका अनुसार तालिमले दक्ष अम्पायर तथा रेफ्री उत्पादन गर्दै प्रदेशस्तरमा ब्याडमिन्टन खेलको गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउने आयोजकको अपेक्षा छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस