मनसुनजन्य विपद् प्रतिकार्य तयारीका लागि ‘मनसुन–६’ अभ्यास खाँदबारीमा
मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य तयारीलाई सुदृढ बनाउन संखुवासभामा “मनसुन–६ विपद् प्रतिकार्य कृत्रिम घटना अभ्यास” गरिएको छ ।
खाँदबारीमा बिहीबार आयोजित अभ्यासमा बाढी तथा पहिरोको काल्पनिक अवस्था सिर्जना गरी घाइतेको उद्धार, प्राथमिक उपचार, विस्थापितको सुरक्षित स्थानमा व्यवस्थापन, राहत सामग्री वितरण, जोखिम क्षेत्रको सुरक्षा व्यवस्थापन तथा समन्वयात्मक कार्यको नमुना प्रदर्शन गरिएको थियो । अभ्यासका क्रममा सुरक्षाकर्मीले डोरी, स्ट्रेचर तथा उद्धार उपकरण प्रयोग गर्दै जोखिमयुक्त क्षेत्रबाट घाइतेको उद्धार गरेका थिए भने स्वास्थ्यकर्मीले तत्काल प्राथमिक उपचार सेवा दिएका थिए ।
जिल्लामा छैटौँ पटक आयोजना गरिएको यस अभ्यासले सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का बेला उद्धार तथा राहत व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति संखुवासभाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली सेनाको इन्द्रदल गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, खाँदबारी नगरपालिका लगायत विभिन्न सरोकारवाला निकायको सक्रिय सहभागिता रहेको थियो । अभ्यासमा स्थानीय स्वयंसेवक तथा युवाहरूको समेत उल्लेखनीय सहभागिता देखिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सृजना थपलियाले यस वर्ष अधिक वर्षाको सम्भावना रहेकाले जिल्लाका पहाडी तथा हिमाली क्षेत्रमा बाढी र पहिरोको जोखिम उच्च रहेको बताइन् । उनले विपद्को समयमा नागरिकको शीघ्र उद्धार, राहत वितरण तथा सुरक्षित स्थानान्तरणलाई प्रभावकारी बनाउन यस्ता अभ्यास अत्यन्त उपयोगी हुने उल्लेख गरिन् ।
“विपद् आउनुभन्दा अघि गरिने तयारी नै सबैभन्दा ठूलो सुरक्षा हो,” उनले भनिन्, “यस्ता अभ्यासले सुरक्षा निकायबीच समन्वय, सञ्चार प्रणाली र द्रुत प्रतिकार क्षमतामा थप सुधार ल्याउन मद्दत पुर्याउँछ ।”
नेपाल रेडक्रस सोसाइटीका सभापति सरोजकुमार बज्राचार्यले विपद् व्यवस्थापनमा आवश्यक स्रोतसाधन, उपकरण तथा दक्ष जनशक्तिको अभाव अझै चुनौतीका रूपमा रहेको बताए । उनले दुर्गम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच सहकार्य बढाउनुपर्ने धारणा राखे ।
अभ्यास अवलोकन गर्न पुगेका स्थानीयवासीले विपद्का बेला कसरी सुरक्षित रहने, उद्धार टोलीलाई कसरी सहयोग गर्ने तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे प्रत्यक्ष जानकारी पाएका थिए । कार्यक्रममा सहभागीहरूले मनसुनको समयमा सतर्कता अपनाउन, नदी किनार तथा पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राखिएको तथा आपत्कालीन सूचना आदान–प्रदानका लागि सुरक्षा निकायलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको जनाएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस