खाँदबारीमा लायन्स क्लब गठन
सङ्खुवासभा - लायन्स क्लब अफ खाँदबारी, सङ्खुवासभा गठन भएको छ । लायन्स विमल गौतमको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरिएको छ।
सोमबार खाँदबारीमा आयोजित शपथ ग्रहण, चार्टर हस्तान्तरण तथा पदस्थापन समारोहका बीच लायन्स क्लबको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ डीका डिष्ट्रिक्ट गभर्नर महेश आचार्यले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई लायन्सको पिन र सदस्यता प्रमाणपत्र वितरण गर्दै शपथ गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर आचार्यले लायन्स क्लब विश्वकै अग्रणी सेवा संस्था भएकाले समाजमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न नवगठित क्लबलाई आग्रह गरे। उनले खाँदबारीमा स्थापित नयाँ क्लबले स्थानीय समुदायमा उदाहरणीय सेवा कार्य गर्दै लायन्स अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा ३२५ डि का क्याविनेट सेक्रेटरी बच्चुराम शर्मा कुइकेल, लायन्स क्लब अफ आभुषणका चार्टड प्रेसिडेन्ट क्षितिज खनाल र ड्रिष्टिक ३२५ डि का लायन्स क्लब इन्टरनेस्नल फाउण्डेशनका ड्रिप्टिक कोअर्डिनेटर विश्वनाथ रिजाल र लायन्स क्लब अफ संखुवासभा डायमण्डका चार्टर प्रेसिडेण्ट कमलमणि कटुवालले लायन्स क्लवका बारेमा जानकारी दिएका थिए ।
समारोहमा लायन्स क्लब अफ काठमाडौं माउन्ट मकालुका पूर्वअध्यक्ष देबेन्द्र घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ क्लबको स्थापनाले सङ्खुवासभामा सामाजिक सेवाका गतिविधिलाई नयाँ गति दिने बताए।
सोही अवसरमा क्लब स्थापनाका लागि जग्गा उपलब्ध गराएर महत्त्वपूर्ण योगदान पुर्याएका कृष्ण बुढाथोकी र विमला बुढाथोकीलाई सम्मानपत्र तथा खादा ओढाएर विशेष सम्मान गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष विमल गौतमले क्लबलाई सेवामुखी, प्रभावकारी र समुदायसँग प्रत्यक्ष जोडिएको संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सबै सदस्यलाई एकताबद्ध भएर हामी सेवा गर्छौं भन्ने लायन्सको मूल मन्त्रलाई व्यवहारमा उतार्न आह्वान गरे।
कार्यक्रममा लायन्सका पदाधिकारी, विभिन्न क्लबका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस