• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026
अन्तरवार्ता

'चुनाव हारे पनि जनतासँगको दूरी बढाएको छैन'-खड्का

काठमाडौँ — मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा लागेका छन् । देशभर उम्मेदवारहरू राष्ट्रिय राजनीति र विकासे एजेन्डा लिएर मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । यसपालि मूलतः नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धनकै बीचमा प्रतिस्पर्धा छ । 


प्रदेश १ को हिमाली जिल्ला संखुवासभामा १० राजनीतिक दलसहित १२ उम्मेदवार छन् । तर, कांग्रेस र एमालेकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले जिल्ला सभापति दीपक खड्कालाई उठाएको छ भने एमालेले स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद गौतमलाई उम्मेदवार बनाएको छ । खड्का र गौतम चीरपरिचित प्रतिद्वन्द्वी हुन् ।

पुरानै उम्मेदवार, पुरानै एजेन्डा छन् । उम्मेदवारहरू सडक, जलविद्युत् र पर्यटन विकासलाई चुनावी मुद्दा बनाएर मतदातामाझ पुगिरहेका छन् । यसै सन्दर्भमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उम्मेदवार दीपक खड्कासँग  गरेको संक्षिप्त कुराकानी :

चुनाव प्रचारप्रसार कस्तो भइरहेको छ ?

उम्मेदवारी दर्तापछि एक चरण गाउँ डुलिसकेको छु । यसपटक मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । म ०७४ मा पनि थोरै मतान्तरले पराजित भएको हुँ । मैले चुनाव हारे पनि मतदाताबाट टाढिएको छैन । त्यसैले यसपटक मेरो राम्रै छ, राम्रै हुन्छ भन्ने लागेको छ ।

मतदाताले चाहीँ के चाहेका छन्, कस्ता प्रश्नहरू सोध्छन् ?

हुन त यो चुनाव विधायकका लागि हो । तर, हामी कहाँ आमनिर्वाचनमा अझै पनि विकास निर्माणकै विषयमा चासो छ । अहिले पनि विकास निर्माणकै कुरामा मतदाताको चासो छ । कसले कस्ता विकासे योजनाहरू ल्याउन सक्छन् ? के–के घोषणा गर्छन् ? मतदाताले यी नै विषयमा चासो दिएको पाएको छु ।

तपाईंले उठाएको चुनावी मुद्दाचाहीँ के हो नि ?

क्षेत्रमा जे आवश्यकता छ, त्यही विषय चुनावी मुद्दा बन्ने हो, र त्यो गर्ने पनि हो । यहाँ मतदाताले विकास चाहेका छन् । सम्भावनाहरू पनि छन्, तर त्यसलाई राष्ट्रिय बजेटमा पारेर नेतृत्व गर्ने नेताको खोजी छ । त्यसैले हामी त्यो काम गर्छौ भनेर हामीले प्रतिबद्धतापत्रमा विकास निर्माणकै योजनाहरूलाई अघि सारका छौँ । संखुवासभाको विकास, समृद्धि र यहाँका नागरिकको जीवनस्तर माथि उकास्ने हाम्रो एजेन्डा हो ।

अहिले यहाँ सबैभन्दा धेरै चासोको योजना भनेको जोगबनी-किमाथाङ्का सडक हो । यो सडक जिल्लाको विकास र समृद्धिका लागि बलियो माध्यम बन्ने अवस्था छ । भारत र चीनलाई एउटै सडकले, त्यो पनि छोटो दूरीमा जोड्न सकेको खण्डमा त्यसले हाम्रो जिल्लालाई मात्रै होइन, राष्ट्रकै आर्थिक विकासमा योगदान पुग्ने आधार खडा हुन्छ । अहिले यो सडकको ट्य्राक लगभग जोडिने अवस्थामा छ । यसलाई दुई वर्षभित्र जोडिसक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो सडक बन्यो भने भारत र चीनसँगको छोटो दूरीको व्यापार गर्न संखुवासभा तयार हुन्छ । यसमा समयमै काम गराउने हाम्रो प्रतिबद्धता हो ।

हामीकहाँ जलविद्युत्‌को असाध्यै धेरै सम्भावना छ । एक ढंगले हेर्ने हो भने हाम्रो जिल्ला प्राकृतिक स्रोतका लागि अत्यन्तै उर्बर छ । बरु ती प्राकृतिक स्रोतको समुचित प्रयोग हुन सकेको छैन । यी नै प्राकृतिक स्रोत साधनको उपयोग गरेर युवाहरूलाई आयआर्जनसँग ‘गरिखाने अभियान’ मा जोड्ने योजना बनाएको छु ।

स्वरोजगारी सिर्जना गरेर युवा पलायन रोक्नुपर्छ भन्ने हो । त्यस्तै, अरुण तेस्रो जलविद्युत् आयोजनाको बिजुलीबाट प्राप्त हुने २ सय मेगावाट बिजुलीबाट २५ प्रतिशत आम्दानी सिधा संखुवासभालाई आउनुपर्छ भन्ने मेरो एजेन्डा हो । त्यो बजेटले यहाँको विकास गर्नुपर्‍यो । यहाँको बिजुली बाल्ने, बेचेर देश धनी हुने, अनि यहाँका बासिन्दाले कष्टकर जीवन बाँचिरहनुपर्ने त हुनुभएन नि ? त्यसैले यहाँ बन्ने हरेक विद्युत् योजनामा स्थानीयले इक्विटी सेयर पाउनुपर्छ भन्ने मलाई लाग्छ । म त्यसका लागि पहल गर्छु, गर्दै आएको छु ।

अहिलेको अवस्थामा हाम्रै जिल्लामा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने आधारहरू छन् । मैले जलविद्युत्‌बाटै संखुवासभाको भविष्य उज्ज्वल बन्न सक्ने देखेको छु । त्यसका लागि हामीसँग प्रस्ट योजना खाका छन् ।

त्यस्तै, संखुवासभाको अर्को राम्रो सम्भावनाको क्षेत्र भनेको पर्यटन पनि हो । पर्यटनको हिसाबले यो जिल्ला भर्जिन छ । यसका लागि पनि थुप्रै योजनाहरू छन् । त्यस्तै, कृषिमा आधुनिकीकरण गर्ने, शिक्षामा प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने योजनाहरू छन् ।

हामी अहिले प्रशस्तै स्रोतसाधन भए पनि आर्थिक हिसाबले कमजोर छौँ । तर, यहाँका स्रोत साधनको परिचालन कसरी गर्ने भन्ने कुरा मुख्य हो । यदि स्रोतसाधनको समुचित प्रयोग गर्ने हो भने पहाडी जिल्लाहरूमध्ये एक नम्बर जिल्ला बनाउन सकिन्छ भन्ने लाग्छ ।

सत्तारुढ दलहरूको बीचमा तपाईंहरूको गठबन्धन छ । चुनाव जित्नुहुन्छ त ?

अहिलेको माहोल मेरो पक्षमा छ । हाम्रो बलियो गठबन्धन छ भने अर्कोतिर एमाले विगतको भन्दा चोइटिएर सानो भएको छ । स्थानीय चुनावको परिणाम हेर्दा नै हामी फराकिलो मतान्तरले अगाडि छौँ । अर्को भनेको हामीकहाँ उम्मेदवारहरू पनि पुरानै छौँ । अघिल्लो पटक निर्वाचित सांसद साथीले यहाँ राष्ट्रिय बजेटहरू भित्र्याउन नसकेको र जनताको सुखदुःखमा योगदान पुर्‍याउन नसकेको अवस्था छ । त्यो मेरा लागि लाभदायक छ ।

विगतदेखि एमालेमै मतदान गर्दै आइरहनुभएका धेरै मतदाता साथीहरूले यसपटक नयाँ उम्मेदवारको खोजी गर्नुभएको थियो तर पुरानैले निरन्तरता पाएपछि उहाँहरू निराश हुनुहुन्छ र उहाँहरू यसपटक मलाई सघाउने तयारीमा हुनुहुन्छ । त्यसैले मलाई गाह्रो छैन । मेरो जितको मुख्य आधार भनेकै जनता हो, मतदाता हो । मैले चुनाव हारे पनि जनतासँगको दूरी बढाएको छैन । त्यसैले म ढुक्क छु ।
========== 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार